काठमाण्डु, २३ असोज– सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं गोर्खा मिडियाका एक सञ्चालक छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन दोस्रो पटक खारेज हुने फैसला सुनाएको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले गैरकानुनी थुनामा राखेको दाबी गर्दै जोशीका छोरा रोचक जोशीले दर्ता गराएको मुद्दा दोस्रो सुनुवाइमा खारेज हुने फैसला सुनाएको हो ।
यसअघि असोज २१ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । सर्वोच्चले यसअघि असोज १६ गते रिट खारेज हुने फैसला गर्दै धरौटीमा रिहा गर्ने प्रहरीलाई ध्यानाकर्षणको आदेश गरेको थियो ।
तर यस पटक भने खारेज हुने फैसला सुनाएको छ। गत १६ असोजमा असोज १६ मा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले निर्देशनात्मक आदेश गर्दै रिट खारेज गरेको थियो ।
उक्त इजलासले प्रहरीलाई ध्यानाकर्षण गराए पनि रिहा गर्न अस्वीकार गरेको भन्दै परिवार पुनस् सर्वोच्च पुगेको थियो । अदालतले दसैँ बिदा सुरु भएकाले अब धरौटी वा तारेखमा छाड्दा पनि हुने भन्दै प्रहरीको ध्यानाकर्षण गराएको भन्दै उनीहरूले थुनामुक्त हुनुपर्ने माग गरेका थिए ।
उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका छन । सर्वोच्चले आज सुनुवाइ गर्दै बन्दीप्रत्यक्षीकरणको रिट नै खारेज गरेपछि यो विवाद अब जिल्ला प्रहरी कार्यालय कास्कीले नै निर्णय गर्ने छ ।