दशैंका दिन पोखराका ७ रुटमा निस्शुल्क बस सेवा

काठमाण्डु टुडे २०८१ असोज २३ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, २३ असोज– पोखराका विभिन्न ७ रुटमा दशैंका दिन निशुल्क बस सेवा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने विभिन्न ७ रुटमा निशुल्क चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले जानकारी दिएका छन ।

दशैंका दिन आवश्यकताभन्दा बढी यात्रु बोक्ने, गाडी नै नचल्ने, आवश्यकताभन्दा बढी भाडा लिने गुनासो आइरहने भएकाले नागरिकको चाप हुने पोखराका विभिन्न ठाउँमा दशैंका दिन निशुल्क बस चलाउन लागिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिएका छन । यातायात व्यवसायीकोसमेत उपस्थितिमा प्रशासनले बुधबार पत्रकार सम्मेलन गर्दै नागरिकको चाप हुने ठाउँमा बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निशुल्क बस बस चलाउ लागीएको उनले जानकारी दिएका छन ।

पोखराका विभिन्न यातायात व्यवसायीको संयुक्त प्रयासमा ७ वटा रुटमा ३२ सिटमाथिका १८ वटा बसले दशैंका दिन निशुल्क यात्रु ओसार्ने सिडिओ पाण्डेले जानकारी दिएका छन । उनले भने, ‘दशैंमा गाडी नपाउने, धेरै चाप हुने गुनासो आइरहन्थ्यो । यसपटक यातायात व्यवसायीकै समन्वयमा बस निशुल्क गराउने कामको थालनी गरेका हौं, आगामी वर्ष अन्य निकायसँग पनि समन्वय गरी थप यातायात सुविधालाई ग्रामिण क्षेत्रमा पनि पुर्‍याउने जमर्को गर्ने छौं।’

जिल्ला प्रशासनकै समन्वयमा १८ वटा गाडी निशुल्क चलाएर अन्य गाडीले बढी भाडा असुल्ने, बढी यात्रु राख्ने गरे कारबाही कसरी हुन्छ त ? सिडिओ पाण्डेले प्रस्ट पारे, ‘कुनै सर्तमा निशुल्क बस चलाउन लागिएको होइन, बढी यात्रु बोक्ने, बढी भाडा असुल्ने गरे नियमानुसार कारबाही हुन्छ ।’राष्ट्रिय यातायात व्यवसायी महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले यातायात व्यवसायी अहिले झनै समस्यामा रहे पनि सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क बस सेवा दिन लागिएको जानकारी दिएका छन ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले अहिले काठमाडौंबाट पोखरा आउने बसलेसमेत यात्रु पाउने अवस्था नरहेको बताए । उनले अघिल्लो वर्ष पोखराबाट बाहिरदिने ७५ हजार यात्रुले टिकट काटेको तर यो वर्ष अहिलेसम्म ५ हजार यात्रुले पनि टिकट नकाटेको बताएका छन । पोखरामा पटक पटक मिटरमा चलाउने प्रयास भएर पनि असफल भएको ट्याक्सी व्यवसाय हो । अहिले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइड पुर्‍याएकै २ हजार रुपैयाँसम्म लिने गरेको गुनासो छ ।

विमानस्थलमा चर्को पार्किङ शुल्क तिर्नुपर्दा भाडा बढी लिने गरेको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिएका छन । उनले भने, ‘विमानस्थलमा ट्याक्सीकै पार्किङ शुल्क ३ सय ५० रुपैयाँ छ । त्यहाँबाट लेकसाइड आएको ८ सय ५० सम्म लिने गरिएको छ तर हामीले ८ सय रुपैयाँभन्दा बढी नलिनु भनेका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us