एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख सहयोग

काठमाण्डु टुडे २०८१ असोज २३ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, २३ असोज– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु ५१ लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो ।

अध्यक्ष डा. केसीले हालैको बाढी, पहिरो र डुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा रु एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराएका थिए ।

अध्यक्ष डा. केसीले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा सङ्घलाई धन्यवाद दिँदै एक पटकको नेपाली सँधैको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताए ।

प्रधानमन्त्री ओलीले सङ्घको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us