ओलीद्वारा राष्ट्रसंघ महासभामा सम्बोधनः इजरायल–प्यालेस्टाइन युद्ध वार्ताद्वारा समाधान गर्न सुझाव

काठमाण्डु टुडे २०८१ असोज ११ गते ६:५५ मा प्रकाशित

काठमाण्डु, १० असोज- प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका छन् । अमेरिकाको न्यूयोर्कमा जारी महासभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताए ।

उनले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे ।

सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए ।

‘दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ’, प्रधानमन्त्री ओलीले भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता,  एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अरु देशसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ ।’ इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई देशबीचको शान्तिपूर्ण सम्वादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

प्रधानमन्त्री ओलीले विश्वका विकसित देशको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग गरे ।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताए।

उनले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग प्रधानमन्त्री ओलीको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us