चीनबाट फर्किएका रास्वपा नेताले भनेः रवि लामिछानेलाई साथ दिन छिटो आयौँ

काठमाण्डु टुडे २०८१ असोज १० गते १६:२९ मा प्रकाशित

काठमाण्डु, १० असोज–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने रास्वपाका नेताहरुले बताएका छन । चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका रास्वपाका नेताहरूले रवि लामिछानेलाई साथ दिन छिटो नेपाल आएको बताएका छन ।

आज चिनबाट स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरू आउनुपरेको बताएका छन ।

उनले पार्टीको सभापति व्यक्ति नभई संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरू स्वदेश पर्किएको बताएका छन । उनले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको पनि बताएका छन । उपसभापति वाग्लेले भने, ‘अप्ठ्यारो घडीमा पार्टीको सभापति व्यक्ति रवि लामिछाने मात्रै होइन, त्यो संस्था हो ।

त्योमाथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ । अप्ठ्यारो घडीमा नेपाल नै हुनुपर्छ भनेर आएका हौँ ।’ यस्तै रास्वपा सांसद मनिष झाले पार्टी सभापतिले सहकारीमा आफैँ व्यक्तिगत रूपमा उपस्थित र संलग्न भएर रकम नलिएको प्रतिवेदनले स्पष्ट पारिसकेको पनि बताएका छन ।

उनले ४१ वटा कम्पनीमा ८७ अर्ब रकम सहकारीबाट आएकोतिर ध्यान नभई त्यसमध्येको एउटा मात्रै कम्पनीमा सभापति लामिछानेलाई लक्षित गरेर मात्रै प्रहार भइरहेको पनि बताएका छन । उनले रवि लामिछाने जोडिएको कम्पनीको पछाडि मात्रै अनुसन्धान केन्द्रित भएको भन्दै आपत्ति व्यक्त गरेका छन ।

उनले भने, ‘सहकारीमा आफैँ व्यक्तिगत रूपमा उपस्थित भएर संलग्न भएर रकम लिएको छैन भन्नेकुरा प्रतिवेदनले स्पष्ट पारिसकेको छ । कसैले पहिलो पाटोमा राजनीति नगरे हुन्छ । आफ्नो राजनीतिक भविष्य कतै जोखिममा छ कि भनेर धेरै कथाहरू नबुने पनि हुन्छ ।

अर्को पाटोमा हेर्दा एउटा व्यापारीले व्यापार गर्दै गर्दा ४१ वटा कम्पनीमा लगानी भित्र्याएको छ । सहकारीको पैसाबाट । त्यसमा ४० वटा कम्पनी अरू कुनै दललाई मतलब छैन । एउटै कम्पनीको पछाडि लागेको छ ।

त्यो रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र पूर्वगृहमन्त्री हुनुहुन्छ ।’उनले २–४ करोडको पछि लागेर ८७ अर्ब छोड्ने चलखेल हुन लागेको भन्दै आशंका व्यक्त गरे ।

पाँच दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेको १४ सदस्यीय टोलीमध्ये ८ जना आज स्वदेश फर्किएका हुन् । बाँकी शुक्रबार नेपाल आउने रास्वपाका नेताहरुले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us