एकीकृत समाजवादीका नेताको कार्यविभाजनमा जुटेन सहमति

काठमाण्डु टुडे २०८१ असोज १० गते १६:२० मा प्रकाशित

काठमाण्डु, १० असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गीएको छ ।

एकीकृत समाजवादीको मुख्यालय आज बिहिबार आलोकनगरमा करिब ३ घण्टा बसेको कार्यदल बैठकमा कार्य विभाजनबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको सो पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।

बिहीबारको बैठकमा सामान्य छलफल मात्र भएको बताए । उनले निरन्तर बैठक बस्ने गरी नेताहरू उठेको प्रचार विभागका पूर्वसदस्य धनराज वास्तविकले जानकारी दिए । उनले भने, ‘भोली र पर्सी लगातार बैठक बस्ने कुरा छ ।’

आजको बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीभित्रको असन्तुष्टि, महाधिवेशनको समीक्षा र पार्टीभित्रका कमीकमजोरीका बारेमा छलफल गर्नुपर्ने भन्दै लिखित प्रस्ताव राखेको एक नेताले जानकारी दिएका छन ।

उनले भने, ‘जेएन कमरेडले पार्टीको समग्र समीक्षा गर्नुपर्ने र असन्तुष्टि हटाएर मात्र अघि बढ्न सकिने आशयको लिखित प्रस्ताव राख्नुभएको छ ।’

अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us