स्थानीय तह उपनिर्वाचन: मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता

काठमाण्डु टुडे २०८१ असोज १० गते १५:०९ मा प्रकाशित

काठमाण्डु, १० असोज– निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। उक्त कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिएका छन ।

सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन पनि उनले जानकारी दिए । यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने सापकोटाले जानकारी दिएका छन । सोही दिनको दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी नामावली प्रकाशन गरिने सापकोटाको भनाइ छ ।

यसैगरी मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यसैगरी दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

निर्वाचन कार्यक्रम अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान शुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजे पछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us