विदेशबाट घर आएका श्रीमान्ले गरे श्रीमतीको हत्या

काठमाण्डु टुडे २०८१ असोज १० गते १२:३१ मा प्रकाशित

काठमाण्डु, १० असोज– सर्लाहीमा गोली हानेर एक युवकले श्रीमतीको हत्या गरेका छन । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे श्रीमान्ले गोली हानेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ ।

श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको सर्लाहीका प्रहरीले जानकारी दिएको छ ।

पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने ५४ वर्षीय बुवा रामदिनेश राय घाइते भएको पनि प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका अनुसार उनको बायाँ हातमा गोली लागेको छ ।

उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । आफ्नै बुवा र श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने प्रहरीले खुलाएको छैन । घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ । श्रीमान् कामको सिलसिलामा विदेशमा बसिरहेका थिए ।

करिब एक महिना अगाडि मात्रै उनी कुबेतबाट फर्केका थिए । त्यसको केही समय उनी घरमा बसे । विदेशबाट फर्केपछि पारिवारिक विवाद सुरु भएको थियो, त्यसपछि सबलाई मार्छु भन्दै उनी घरबाट निस्किएका थिए ।

सर्लाही प्रहरीका अनुसार घरबाट निस्केको करिब एक महिना पछाडि बुधबार राति अचानक उनी घरमा आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा छोरा गोली हान्ने व्यक्ति विदेशबाट फर्केपछि पारिवारिक सम्बन्ध ठिक नभएको पाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us