‘क्रोनिक’ बनेको धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि सुरु

काठमाण्डु टुडे २०८१ असोज १० गते ९:५१ मा प्रकाशित

काठमाण्डु, १० असोज– सरकारले विवादका कारण स्थगित नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरि अगाडि बढाएको छ ।

अध्यक्ष सिफारिस समितिले एक सूचना जारी गर्दै सर्टलिस्टमा परेर अन्तर्वार्तामा सहभागी हुन नआएका तीन उम्मेदवारलाई कार्यप्रस्तुति ताथ अन्तर्वार्तामा आउन भनेको हो ।

अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिकरणका लागि १८ असोजको बिहान ८ बजे लागि निर्धारण गरिएको छ ।

यसअघि ५ दाबेदारमध्ये धितोपत्र मापक (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, राष्ट्रिय बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं र सेबोनकै कार्यकारी निर्देशक नवराज अधिकारीले अन्तर्वार्ता बहिस्कार गरेपछि बोर्ड अध्यक्ष नियुक्त हुन सकेको थिएन ।

तत्कालीन सिफारिस समितिले तीन जनाले अन्तर्वार्ता बहिस्कार गरेको अवस्थामा दुई जनामध्येबाट नियुक्ति गर्न नसकिने भन्दै नयाँ प्रक्रियाका लागि सूचना जारी गरेका थियो ।

समितिले त्यसअघि महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो । धितोपत्र बोर्ड ऐनले अन्तिम अन्तर्वार्तापछि योग्यता पुगेका तीनमध्ये १ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरेको र तीन जना प्रक्रियामै सहभागी नभएकाले सिफारिस गर्न नमिल्ने तर्क समितिको थियो ।

तर, अन्तर्वार्ता र प्रस्तुतिकरणमा उपस्थित भएका उम्मेदवार सन्तोषनारायण श्रेष्ठले पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतले गत १८ असारमा बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

२१ असारमा १८ असारको आदेशलाई निरन्तरता दिँदै न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले नयाँ नियुक्तिको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दियो ।

मुद्धाको पेसी ३० आगामी ३० माघका लागि तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us