प्रचण्डको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनायोः महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ असोज ९ गते १७:१७ मा प्रकाशित

काठमाण्डु,९ असोज– एमाले महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको दाबी गरेका छन ।

आज बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले सत्ता गुमाएको कुण्ठामा माओवादीले संसद अवरुद्ध गरेको समेत बताएका छन ।

उनले भने, ‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले संसदमा जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत असंसदीय र अराजनीतिक थियो, ‘त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो ।’

नेकपा माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको उनले बताए । तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना गर्ने काम भएको उनले बताए ।

‘दिनदहाडै बसमा आगजनी गर्ने, राति घरमा सुतेका एउटै घरमा ११ जनाको हत्या गर्ने काम भयो’, उनले भने, यो हिंसा मात्र होइन, आतंक पनि हो ।’

यद्यपि माओवादी कार्यकर्ताको वलिदान समाजको परिवर्तनका लागि भएको र त्यसको आफूहरुले प्रशंसा नै गर्ने गरेको उनले बताए ।

त्यही क्रममा गलत तत्वहरुले हिंसात्मक क्रियाकलाप पनि गरेको भन्दै उनले भने, ‘हिंसाको विरोध गर्नु अराजनीतिक पनि होइन, असंसदीय पनि होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us