सहकारीबाट २ अर्ब ठगेर भागेका एमाले नेता कहाँ छन् ?

काठमाण्डु टुडे २०८१ असोज ९ गते ९:१५ मा प्रकाशित

काठमाण्डु, ९ असोज– बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख एवं एमाले नेता देवकुमार सहकारीको बचतकर्ताको २ अर्ब रुपैयाँ ठगी गरेर फरा भएको १६ महिना भयो ।

नेपाली बागलुङ र कास्कीमा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको विषयमा बाहिर आएपछि ५ जेठ २०८० मा भागेका थिए ।

प्रहरीले विदेश भागेको हुन सक्ने आशंकामा गत माघमै रेड कर्नर नोटिस जारी गरेको थियो । नेपालीविरुद्ध कास्कीका ५ सय २४ र बागलुङका एक हजार ५ सय ४३ सर्वसाधारण बचतकर्ताले उजुरी दिएका छन् ।

नेपालीसहित १३ जनाविरुद्ध जिल्ला अदालत, बागलुङमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्धा दायर गरेको छ । बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले नगरप्रमुख नेपालीसहित सहकारीका ७ सञ्चालक फरार रहेको जानकारी दिए । लगातार खोजी गरिए पनि फेला पार्न नसकिएको उनले बताए ।
सहकारीका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित पाँच जना भने पुर्पक्षका लागि थुनामा छन् । परियारले अनौपचारिक रुपमा आफ्नो सम्पत्ति बेचबिखन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने खबर पठाएका छन् ।

नेपालीले सहकारी बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै सम्पत्ति बेचेर रकम फिर्ता गर्ने भन्दै त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

आइतबार पनि अध्यक्ष नेपालीले सामाजिक सञ्जालमार्फत मिलापत्र गरी बचतकर्ताको रकम फिर्ता दिन आफू तयार रहेको बताएका छन् ।

उनले काठमाण्डु, पोखरा र बागलुङमा आफ्नो तीन अर्ब बराबरको सम्पत्ति रहेको र उक्त सम्पत्ति बेचेर रकम फिर्ता गर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us