प्रचण्ड-रविन्द्र भेटबारे बाबुरामको कटाक्षः बिरालोले म्याँउ गरेकै हो

काठमाण्डु टुडे २०८१ असोज ९ गते ७:४४ मा प्रकाशित

काठमाण्डू, ९ असोज- नेपाल समाजवादी पार्टी (नेसपा) संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रबारे बिरालोले म्याउं गरेको शैलीमा आफ्नो विचार अभिव्यक्त गरेको बताएका छन् ।

प्रचण्ड र राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रबीच मंगलबार भएको संवादलाई लिएर भट्टराईले टिप्पणी गरेका हुन् । प्रचण्डसंगको भेटमा मिश्रले मुलुक बचाउन राजतन्त्र पुनस्थापना गर्न ढिला गर्न नहुने बताएका थिए । मिश्रले प्रचण्डले राजतन्त्रप्रति नरमभाव देखाएको र राति सुत्ने बेलामा सोच्नुपर्ने बताएको जिकिर गरेका थिए । मिश्रका अनुसार प्रचण्डले १० वर्षे सशस्त्र जनयुद्धका क्रममा केही नेता  राजसंस्थाबारे पूरै नकारात्मक रहेको तर आफू देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा रहेको उल्लेख गरे । भट्टराईले विगतमा आफू र प्रचण्डबीच राजतन्त्रको निरन्तरताको विषयलाई लिएर अन्तसंघर्ष चलेको पनि बताए ।  ‘माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ अहिले बिरालो म्याँउ गरेकै हो । किनकि प्रचण्डको वास्तविकता त्यही हो,’ उनले भनेका छन् ।

भट्टराईले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट नभएर नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको बताएका छन् । उल्लेख गरेका छन् । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका उपलब्धीहरू खोसिन नसक्ने र खोस्न दिन नहुने स्पस्ट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us