यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डु टुडे २०८१ असोज ९ गते ६:५३ मा प्रकाशित

काठमाण्डू, ९ असोज- कोशी, मधेस,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ ।

महाशाखाले दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।

कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ । राति कोशी, बागमती र गण्डकी  प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम  प्रदेशका एक/दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरुमा राति पनि हावाहुरी आउन सक्ने पूर्वानुमान पनि महाशाखाले गरेको छ ।

वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us