सभापति देउवा वीरगन्जमा, सुरक्षा व्यवस्था चुस्त बनाउन ४ सय प्रहरी परिचालन

काठमाण्डु टुडे २०८१ असोज ८ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, ८ असोज– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार वीरगन्ज आइपुगेका छन् । वीरगन्जमा करिब ३० घण्टा बस्न लागेका देउवाले औपचारिक दुई र अन्य अनौपचारिक भेटघाट गर्ने पक्का भएको छ ।

औपचारिक कार्यक्रममा सभापति देउवाले मंगलबार पहिलो दिन आधारभूत अस्पतालको उद्घाटन गर्ने कार्यतालिका रहेको पर्सा कांग्रेस जनाएको छ । पटेर्वासुगौली गाउँपालिका–४ स्थित आधारभूत अस्पतालको समुद्घाटन गर्ने कार्यक्रम तय भएको पर्साका कांग्रेसका सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी दिएका छन ।

उनका अनुसार त्यसपछि आज साँझ पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् । त्यसपछि बुधबार पार्टी सभापति देउवा महानगरको कार्यक्रम तथा भेटघाट कार्यक्रममा व्यस्त हुनेछन् । यसबाहेक उनले वीरगन्ज महानगर वडा नम्बर २४ मा आत्माराम ओझा र दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

पूर्वप्रधानमन्त्री देउवाको सुरक्षालाई मध्यनजर गरेर करिब ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

पर्सा प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार नेपाल प्रहरीबाट मात्रै करिब २ सय प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरीबाट करिब २ सयको हाराहारीमा प्रहरी खटाइएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता देबेन्द्र सिंहले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us