सरकारले क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने

काठमाण्डु टुडे २०८१ असोज ८ गते ९:०८ मा प्रकाशित

काठमाण्डू, ८ असोज- प्रधानमन्त्री केपी ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

क्यालिफोर्नियामा करिब एक लाख नेपाली छन् । हाल नेपालको महावाणिज्यदूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियालगायत संस्थाबाट माग गरेको थियो ।

महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरुले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय गर्ने विश्वास दिलाए।

‘तपाईंहरु ढुक्क भएर जानुहोस् । क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौँ,’ उनले भने।

क्यालिफोर्निया राज्य विज्ञान र प्रविधिको हबका साथै सिलिकन भ्यालीसमेत भएकाले त्यसबाट नेपाल र नेपालीहरुले व्यापारिक तथा प्रविधिगत लाभ लिनसक्ने मागपत्रमा उल्लेख गरिएको छ।

उक्त समितिले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पनि भेटेर सोही माग राख्नुका साथै क्यालिफोर्निया भ्रमणको निमन्त्रणा दिएको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us