काठमाण्डु, ७ असोज– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधान अपरिवर्तनीय नहुने भन्दै संशोधन गर्ने विषयहरू धेरै भएको बताएका छन ।
आज (सोमबार) काठमाण्डुमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन ।
उनले यसअघि दुई पटक संविधान संशोधन भैसकेको बताएका छन । उनले भने, ‘दुई पटक संविधान संशोधन नै भइसक्यो, हामीले यसलाई अपरिवर्तनीय मानेका छैनौँ, ‘यसलाई परिवर्तन गर्ने ठाउँहरू खोजौँ तर प्रक्रियामा पनि सहमति गरौँ, इस्युमा पनि सहमति गरौँ ।’
उनले संविधान निर्माणका बेला प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ को सदस्य बनाउनुपर्छ भन्ने आफ्नै प्रस्ताव रहेको पनि बताएका छन ।
त्यसक्रममा पाण्डेले प्रदेश सांसद कति बनाउने भन्ने बहसमा एक बराबर दुई भनेर प्रस्ताव गरेपछि त्यही पास भएको बताए ।
उनले प्रदेश सभामा प्रदेश सांसदको २० प्रतिशत मन्त्री हुन पाउने प्रस्ताव पनि आफूले गरेको भएपनि त्यो धेरै भएको अहिले महसुस भएको बताएका छन ।
उनले भने, ‘प्रदेशको मन्त्री कति बनाउने भन्ने कुरामा २० प्रतिशत प्रस्ताव राख्ने मान्छे म हुँ ।
तर धेरै भएछ’, उनले भने, ‘प्रदेशमा १० प्रतिशत गर्नुपर्ने रहेछ । प्रदेशमा मन्त्रीको संख्या १० प्रतिशत गरेको भए टाइट हुन्थ्यो, धेरै मान्छे मन्त्री बन्न पाउँदैन थिए ।’