काठमाण्डु, ७ असोज– प्रहरीले अमेरिकन डलर देखाई ६४ लाख ठगी गरको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका–१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई हाल भक्तपुर सुर्यविनायक कटुन्जे बस्ने २० वर्षीय भीमबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई झक्तपुरको जडिबुटीबाट पक्राउ गरीएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यलयका एक अधिकृतले जानकारी दिएका छन । भक्तपुर चाँगुनारायणबाट एक जना पीडिलाई गत भदौ २८ गते अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुने भन्दै प्रलोभनमा पारी नगद ४० लाख रूपैयाँ ठगी गरी यो समूह फरार भएको थियो ।
यो समूहले अन्य ठाउँहरुमा पनि यसैगरी ठगी गरेको खुलेको छ । २ असोजमा धादिङ घर भई काठमाण्डुको कलंकी बस्ने एक जना पीडितलाई काठमाण्डुको स्युचाटार बोलाई नगद ७ लाख रूपैयाँ यो समूह ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन ।
त्यसैगरी काठमाण्डुको नागार्जुन नगरपालिका–६ टौखेलबाट ३१ भदौमा चितवन घर भएका एक जना पीडितबाट नगद ५ लाख रुपैयाँ यो समूहले ठगी गरेको खुलेको उनले जानकारी दिएका छन ।
यस्तै भक्तपुर सुर्यविनायकबाट २० साउनमा काठमाण्डुको बागबजार बस्ने एक जना पीडितबाट नगद १० लाख रूपैयाँ र भक्तपुर गठ्ठाघरबाट १३ चैतमा २०८० मा काठमाण्डुको तार्केश्वर नगरपालिका–२ बस्ने एक जना पीडितबाट नगद २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।