काठमाण्डु, ७ असोज– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा हिरासत फोडेर भागेका थिए ।
जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गर्न सफल भएको थियो । भागका आठ जनामध्ये थप तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका-७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका-१३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम-४ का २२ वर्षीय विक्की कार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन ।
लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका-७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र धनुषाको औरही गाउँपालिका-२ का २३ वर्षीय विशाल मुखिया, अभद्र व्यबहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका-१ का १७ वर्षीय सुमित मेस्तर र नगराइन नगरपालिका- २ का १८ वर्षीय मनिष मण्डल अझै फरार रहेको पनि प्रहरीले जानकारी दिएको छ । उनीहरुको खोजी भइरहेको डीएसपी अवाले जानकारी दिएका छन ।