काठमाण्डु, ७ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीलाई न्यूयोर्कबाट आँखा नसन्काउन चेतावनी दिएका छन् ।
लामिछानेले सामाजिक सञ्जालमार्फत ओलीलाई त्यस्तो चेतावनी दिएका हुन् ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान ओली हाल न्यूयोर्कमा छन् । लामिछानेले उताबाट इशारा गरेर आफूलाई पक्रन नलगाउन ओलीलाई चेतावनी दिएको बुझ्न सकिन्छ ।
लामिछानेले फर्किएर आउन भन्दै ओलीलाई सहकारी पीडितलाई न्याय दिने नियतका भए बसेर कुरा गर्न प्रस्ताव राखेका छन् ।
त्यसका लागि कुनै बिचौलियाको घर नचाहिने र आफूले रुम मिलाउने उनको भनाइ छ । ‘न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यू, फर्केर आउनुस् , बसेर कुरा गरौं । सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु । बिचौलियाको घर चाहिन्न, बाँकी भोलि, आइतबार राति सुत्नुअघि उनले फेसबुक पोष्टमा लेखेका छन्
। लामिछानेले आइतबार आफूलाई सहकारी ठगीको आरोपमा पक्राउ गर्न लागिएको भन्दै त्यसो गरिए सबै प्रकारको प्रतिरोध हुने चेतावनी दिएका थिए ।
गोर्खा मिडियाका साझेदार प्रहरीका पूर्वडिआईजी छविलाल जोशी सहकारीको रकम गोर्खा मिडियामा अपचलन गरेको आरोपमा पक्राउ परेलगत्तै लामिछानेले उपत्यकामा भएका कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएको थिए ।
केहीघण्टा उपलब्ध नेताहरुसँग छलफल गरेपछि उनले कार्यकर्तालाई सम्बोधन गरेका थिए । त्यस क्रममा उनले हालसम्म आफूविरुद्ध पक्राउ पुर्जी जारी नभएको सूचना पाए पनि दुई तिहाइको सरकारसँग विश्वास नरहेकाले ढुक्कले नबस्ने बताए ।
लामिछानेले सरकार आफूविरुद्ध ट्रायलमा रहेको भन्दै एउटै व्यक्तिविरुद्ध लगातार राज्य शक्तिको दुरुपयोग गरी षड्यन्त्र नगर्न भने ।