काठमाण्डु, ७ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत मित्रता धेरै बलियो रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच स्थानीय समयअनुसार आइतबार साँझ साइडलाइन भेटवार्ता भएको थियो ।
भेटपछि मोदीले एक्समार्फत ओलीसँगको भेटको तस्बिर साझा गरेका छन् । भेटमा आफूहरुबीच ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्धामा छलफल भएको मोदीले बताएका छन् ।
‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेटघाट भयो । भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं’, मोदीले भनेका छन्, ‘ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित रहेर हामीले छलफल गरेका छौं ।’
भेटमा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जवाफमा मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।