काठमाण्डु, ६ असोज- पूर्वडिआईजी छविलाल जोशी आइतबार सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परे ।
गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर सहकारी संस्थाको अपचलन छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै जोशी पक्राउ परेका थिए ।
जोशीलाई पक्राउ गरिएसँगै काठमाण्डुको राजनीतिक बजारमा अर्को चर्चा चल्यो अब पक्रिने पालो रवि लामिछानेको । गृह मन्त्रालय र प्रहरी श्रोतको हवाला दिँदै अनलाइन सञ्चारमाध्यमहरुमा केही घण्टा प्रमुख समाचारका हेडलाइन बनाइए ।
लामिछानेलाई पक्राउ गर्न लागिएको भन्ने चर्चालाई स्वयं लामिछानेको दल रास्वपाले पनि बल पुर्याउने काम गरेको थियो । उसले उपत्यकामा भएका आफ्ना कार्यकर्तालाई तत्काल वनस्थलीस्थित कार्यालयमा आउन उर्दी जारी गरेको थियो । स्वयं सभापति लामिछाने पनि पक्राउ गर्न लागिएको हल्लापति हतारहतार पार्टी कार्यालय पुगे ।
उनले उपलब्ध नेताहरुलाई कार्यालयमा बोलाएर छलफल गरे । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको भनाइमा लामिछानेले अन्य दलका नेतासँग पनि परामर्श गरेका थिए ।
रास्वपा कार्यकर्ता र युट्युबरहरु कार्यालय परिसरमा भरिभराउ उपस्थित थिए । बाहिर केही पोशाकमा र सादा पोशाकका प्रहरी थिए । जसले लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको भन्ने चर्चालाई थप बल पुर्यायो । त्यसैले भित्र छलफल चलिरहँदा बीचैमा आएर रास्वपा उपनेता श्रेष्ठले युट्युबरहरुसँग कुरा गर्दै आफ्नो पार्टी कार्यालय वरपर प्रहरी तैनाथ गरिएकामा आपत्ति जनाए । उनले आफूहरु नतर्सने भन्दै प्रहरीलाई फिर्ता जान भने ।
भित्र नेताहरुबीच छलफल चल्दै गर्दा बाहिर कार्यकर्ताले रवि दाई हाईहाई, रवि हाम्रो प्राण हो, ज्यान दिन तयार छौंजस्ता नारा लगाइरहेका थिए । राति १० बज्न केही मिनेट बाँकी छँदा कार्यालयबाट बाहिर निस्किएर लामिछानेले कार्यकर्तालाई सम्बोधन गरे । उनले आफूले बुझ्दा प्रक्राउ पुर्जी जारी नभएको र पक्रने तयारी पनि नभएको बताए ।
तर, राज्यले पटकपटक आफूलाई फसाउन षड्यन्त्र गर्दै आएको र यसपटक पनि फसाउन षड्यन्त्र गरिएकाले विश्वास नलागेको उल्लेख गरे । सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको पुष्टि हुँदाहुँदै कसैलाई जोगाउन आफूलाई फसाउने षड्यन्त्रमा दुई तिहाईको सरकार लागिपरेको उनको भनाइ थियो ।
आफूलाई पक्राउ गरिए जुनुसुकै स्तरको प्रतिरोधका लागि तयार रहन लामिछानेले कार्यकर्तालाई निर्देशन दिए । झण्डै आधा घण्टा सम्बोधन गरेर उनी बाहिरिए । तर, हल्ला गरिएजस्तो उनलाई पक्राउ गरिएन । रास्वपा कार्यालयबाहिर तैनाथ प्रहरी उनी बाहिर निस्कन लाग्दा पछि हट्यो ।