काठमाण्डु, ६ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार राति कार्यकर्तालाई सम्बोधन गर्दै उनले नयाँ आएको शक्तिसँग सरकार डराएको बताए । आफू मान्छे बेचेर नभई बेचिएका मानिसहरुको उद्धार गरेर राजनीतिमा आएकाले कसैको षड्यन्त्र र जालझेलसँग नडराउने उनको भनाइ थियो । प्रधानमन्त्री, प्रहरी प्रमुख, संसदीय छानबिन समिति र बयानमा संलग्न कसैले पनि सहकारी ठगीमा आफ्नो संलग्न नरहेको बताइसकेको अवस्थामा मिडिया ट्रायल गरेर पक्राउ गर्न लागिएको षड्यन्त्रपूर्ण हल्ला गरेकामा उनले सरकारको निन्दा गरे । आफूले गल्ती नगरेको र नभागेको बताएका लामिछानेले गल्ती गर्नेहरु भागेको उल्लेख गरे ।
प्रहरीले पक्राउ गर्ने कुनै तयारी नरहेको र पक्राउ पुर्जीसमेत जारी नगरेको बताए पनि दुई तिहाइको वर्तमान सरकारप्रति आफूलाई विश्वास नरहेको लामिछानेले पटकपटक बताए । उनले आफू कसैको अनुकम्पाले नभई जनताको मन जितेर राजनीतिमा आएको भन्दै अहिले पनि सरकारसँग कुनै फेबर वा अनुकम्पाका लागि आग्रह नगरेको स्पष्ट गरे । तर, अन्याय नगरियोस् भनेर आफूले खबरदारी गरेको उल्लेख गरे । लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानबाट आएको एउटा व्यक्तिलाई सकाउन पटकपटक षड्यन्त्र भएको भन्दै साथ दिन सबैलाई आग्रह पनि गरे ।
कसैको राजनीति बचाइदिन आफूले बलिबेदीमा चढ्नुपर्ने अवस्था आएको भन्दै लामिछानेले एकपछिअर्को मुद्धामाथि मुद्धा र षड्यन्त्रमाथि षड्यन्त्रको शिकार बनाउन खोज्नुको कारण माग गरे अनुसन्धानको कुन कसरीमा उभिनुपर्ने हो आफू तयार रहे पनि जालझेल र षड्यन्त्रका अगाडि नझुक्ने उनले बताए ।
वर्षौंदेखि राजनीति गरेर आएका दलहरु नयाँ आएको दलसँग डराएको भन्दै उनले आफूविरुद्ध षड्यन्त्र भए सबै नयाँ शक्ति र अभियन्ताहरु मिलेर सरकारसँग लड्ने घोषणा गरे । त्यसका लागि तयार रहन पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए । कानूनी नैतिक र राजनीतिक रुपमा आफूले गलत नगरेकाले जुन ठाउँमा पनि सत्यका लागि उभिन तयार भएर बसेको उनको भनाइ थियो । षड्यन्त्रका विरुद्ध जुनसुकै तहमा जानका लागि भए पनि तयार रहन भन्दै उनले रवि लामिछनेलाई जोगाउन जरुरी नभए पनि भर्खरै जन्मिको आशा र नयाँ आएका मानिसहरुप्रतिको षड्यन्त्रविरुद्ध उठ्न अपिल गरे ।
आफूहरु अनैतिक र अराजनीतिक क्रियाकलाप गरेर नभई बढ्दो भ्रष्टारविरुद्ध अभियानका रुमपा ब्यालेट बक्सबाट आएको बताए । देशभरिका सहकारी पीडित रसंघर्ष समितिलाई उनले सहकारीमा ठगिएको रकम उठाउने संघर्षको नेतृत्व आफूलाई दिए नेतृत्वका लागि तयार रहेको उनले बताए । सरकारको ध्यान सहकारी पीडितको पैसा फिर्ता गर्नमा नभई रवि लामिछानेमाथि षड्यन्त्र गर्नमा केन्द्रित रहको बुझिदिन उनले पीडितहरुलाई आग्रह गरे । आफू कसैको अनुकम्पाले नभई जनताको मन जितेर आएको भए पनि राज्यले एउटा मान्छेलाई पटकटक घेर्ने, राज्यका सबै शक्ति दुरुपयोग गरेर फसाउन कोसिस गरेकाले जनताले न्याय दिनुपर्ने उल्लेख गरे । आफू अभिमन्यु नभएको टिप्पणी गर्दै लामिछानेले चक्रब्युहबाट निस्कन आउने बताए । दुई तिहाईको सरकारको प्राथमितका काम गर्न नभई नयाँ आएकाहरुविरुद्ध घेराबन्दी गर्न, नारा लगाउनेलाई पक्रन, उपसभामुखमाथि षड्यन्त्र गर्नमा केन्द्रित रहेको टिप्पणी उनले गरे । दुई तिहाईको बहुमत दुरुपयोग गरेर सरकारले अधिनायकवादी चरित्र देखएकाले त्यसविरुद्ध उभिन उनको आग्रह थियो । सबै नयाँ शक्ति एक ठाउँमा उभिएका दिन षड्यन्त्रकारीहरुको अन्त्य हुने घोषणा उनको छ । पक्राउ गर्ने तयारी नभएको भनिए पनि ढुक्क भएर बस्ने अवस्था नरहेको र सरकारप्रति आफूलाई विश्वास नभएको बताए । सरकारले जे पनि गर्नसक्ने भएकाले चनाखो रहन कार्यकर्तालाई आग्रह गरे ।