१० दिनका लागि शनिबार चीन गएको रास्वपा टोली सोमबार फर्कंदै

काठमाण्डु टुडे २०८१ असोज ६ गते २१:५३ मा प्रकाशित

काठमाण्डु, ६ असोज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीन भ्रमणमा रहेको पार्टीको उच्चस्तरीय टोलीलाई फिर्ता बोलाएको छ ।
मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्थाका कारण भ्रमण टोलीलाई बोलाइएको कार्यबाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए । उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाका नेताहरुको टोली शनिबार १० दिने भ्रमणमा लागि चीन गएको थियो । नेताहरुको टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाण्डु फर्कने कार्कीले बताए । यद्यपि पार्टीले निर्देशन दिएर नभई उनीहरु आफैं फर्कन लागेको कार्कीले जानकारी दिए । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा वाग्ले नेतृत्वको १४ सदस्यीय टोली चीन गएको थियो । चीन जानेमा उपसभापति वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us