काठमाण्डु, ६ असोज– सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका पूर्वडिआइजीसमेत रहेका जोशीलाई प्रहरीले आइतबार अपराह्न पक्राउ गरीएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई काठमाण्डु पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यसअघि जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो। उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो ।
ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ५० प्रतिशत शेयर रहेको थियो । टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए। उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा रहेको थियो ।
जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो। संसदीय छानबिन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत रकम आएकोबारे आफू अनविज्ञ रहेको जोशीले बयान पनि दिएका थिए ।
गोर्खा मिडियामा पोखराको सुर्यदर्शनलगायत सहकारीबाट बचत रकम आएको संसदीय छानबिन समितिको प्रतिवेदनको निष्कर्ष रहेको छ ।
गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन्।