काठमाण्डु, २७ भदौ– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले उपसभामुख इन्दिरा रानामगरविरुद्ध अविश्वास प्रस्तावबाट हटाउन सत्तापक्षलाई साथ नदिने भएको छ ।
जसपा नेता एवं संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपालले सत्तापक्षले आफूहरुसँग त्यसबारे कुनै छलफल नगरेको बताए । ‘हामीले सरकारलाई मात्र समर्थन गरेका हौं ।
सरकारलाई समर्थन गर्नु भन्नुको अर्थ सत्तापक्षले जे पायो त्यही गर्न खोज्दा पनि सघाउने भन्ने हुँदैन’, यादवले भने । उनले दुई तिहाईको सरकारको प्राथमिकता अरु नै विषयमा हुनुपर्ने भए पनि उपसभामुखलाई हटाउने विषयलाई ठूलो बनाउन खोज्नु राम्रो संकेत नभएको टिप्पणी गरे ।
‘सरकारले प्राथमिकता दिनुपर्ने विषय अरु धेरै छन्, यस्तो विषय अगाडि सारिनु सरकार र संसद दुवैका लागि उचित होइन’, उनले भने । श्रोतका अुनसार प्रधानमन्त्री केपी ओलीले सजपा अध्यक्ष यादवलाई टेलिफोन गरी सहयोग गर्न आग्रह गरेका थिए ।
तर, यादवले आफूहरुले यो मुद्धामा सहयोग गर्न नसक्ने जवाफ दिएका छन् । बुधबार नै रानाविरुद्ध अविश्वास प्रस्ताव दर्ताका लागि एक चौथाई सांसदको हस्ताक्षर गराएका काँग्रेस र एमाले दुई तिहाई ग्यारेण्टी नभएपछि तत्कालका लागि उक्त योजनाबाट पछि हटेको छ ।
सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले रानाले पदीय हैसियतअनुसारको चरित्र नदेखाएकाले हटाउने सहमति भएको थियो ।
तर, काँग्रेस–एमालेसहित सहभागी जसपा, लोसपा र नागिरक उन्मुक्ति पार्टीका सांसदको मात्र समर्थनले अविश्वास प्रस्ताव पारित गर्न चाहिने दुई तिहाई संख्या पुग्दैन ।
यस्तोमा सत्तापक्षलाई सरकारलाई समर्थन गरेका तर, मन्त्रिपरिषदमा सहभागिता नजनाएका जसपा नेपाल वा सिके राउनत नेतृत्वको जनमत पार्टीको समर्थन चाहिन्छ । उपसभामुख रानाविरुद्ध बुधबार्रै पदीय अनुकूलको आचरण नभएको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।
तर, काँग्रेस पदाधिकारी बैठकमा शेखर कोइराला समूहका नेताले आपत्ति जनाएपछि प्रक्रिया रोकिएको छ । संसदमा दुई तिहाइका लागि तत्काल कायम रहेका सदस्य संख्यामध्ये १ सय ८३ को समर्थन आवश्यक पर्छ ।
सत्ता गठबन्धनमा कांग्रेस ८८, एमाले ७७, जसपाका ७, लोसपा र नागरिक उन्मुक्ति ४÷४ र १ स्वतन्त्र गरी १ सय ८१ सदस्यको मात्र समर्थन हुने देखिएको छ ।