काठमाण्डु, २७ भदौ– एमाले पत्रकारको संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरेकामा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
बस्नेतलाई बिहीबार बागबजारस्थित एक होटलबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले पक्राउ गर्न खोजेको थियो ।
बस्नेत सञ्चालक रहेको जनता टाइम्स डटकम अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर उजुरी परेपछि सोधपुछ गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेको हो । ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले समाचारका विषयमा उजुरी परेकाले बस्नेतलाई सोधपुछ गर्न खोजिएको बताए ।
महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गर्दै समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रहरीको नभई प्रेस काउन्सिल नेपालको भएको भन्दै महासंघका राष्ट्रिय परिषद् सदस्यसमेत रहेका बस्नेतलाई पक्राउ गर्न खोजिएकामा विरोध गरेका हन् ।
काउन्सिलको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै प्रहरीले पत्रकारलाई पक्राउको प्रयास गरेको भन्दै महासंघले त्यसबाट प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको बताएको छ ।
‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ । बस्नेतलाई जबर्जस्ती पक्राउ गर्न खोजिएपछि सँगै रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि प्रहरी पक्राउ नगरी फर्किएको पुरीले बताए ।