काठमाण्डु, २४ भदौ– नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् ।
सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएको पोखरेलले बताएका छन् । राजीनामा दिनुअघि पोखरेलले विष्टलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
सदस्यता विवाद लगायत कारण महासंघको निर्वाचन गराउन नसकेका कारण राजीनामा दिएको उनले बताएका छन् ।
पछिल्लोपटक आगामी ५ असोजमा महासंघको निर्वाचन मिति तोकिएको थियो ।
यसअघि दुईपटकसम्म अधिवेशन तोकिए पनि सदस्यता विवादका कारण काँग्रेस सम्वद्ध पत्रकारको संस्था प्रेस युनियनले महासंघ केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न शाखामा तालाबन्दी गरेको थियो ।
काँग्रेस–एमालेबीच गत १७ असारमा सत्ता साझेदारी भएपछि युनियन र एमाले सम्वद्ध प्रेस चौतारीबीच महासंघमा भागबण्डाको कोसिस हुँदै आएको छ ।
तेश्रोपटक निर्वाचन मिति तोकिए पनि एक सातासम्म निर्वाचन कार्यतालिका ल्याउन नसकेका कारण राजीनामा दिनुपरेको पोखरेलको भनाइ छ ।