जेल बस्नुपर्ने काँग्रेस सांसद केसी पैसा तिरेर छुटे, हेलिकोप्टर चार्टर गरी काठमाण्डु उडे

काठमाण्डु टुडे २०८१ भदौ २४ गते १७:०९ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– लुम्बिनी प्रदेशका कांग्रेस सांसद धनबहादुर केसी (डिबी) जेल नबसी रिहा भएका छन् ।
सजाय बापत रकम तिरेर उनी पक्राउ परेको भोलिपल्टै छुटेका हुन् । सरकारी कागज कीर्ते मुद्दामा अदालतबाट दोषी ठहर भई एक वर्ष कैद सजाय तोकिएका केसीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । तर, प्रहरीले उनी आफैं आत्मसमर्पण गर्न आएको दाबी गरेको थियो ।

रकम बुझाएर केसी रिहा भएको रुकुमपश्चिम अदालतका श्रेस्तेदार ईश्वरी सुवेदीले बताए । आइतबार हाजिर भएपछि अदालतले थुनामा राख्न आदेश दिएको भए पनि केसी थुनामा जान इन्कार गरी आइतबार राति जेलरको कार्यालयमा बसेका थिए । केसीले दैनिक ३ सयका दरले रकम बुझाएका छन् ।
फौजदारी संहितामा एक वर्ष सजाय तोकिएका व्यक्तिलाई रकम तिरेर छुट्न पाउने सुविधा छ । माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले केसीलाई रिहा नगर्न दबाब दिँदै अदालत बाहिर प्रदर्शन गरेको थियो । केसी रकम बुझाएर छुटेलगत्तै हेलिकोप्टर चार्टर गरी काठमाण्डु उडेका छन् ।

श्रीमतीसँगको अंश मुद्धामा किर्ते गरेको मुद्धामा उनलाई जिल्ला अदालतले २०४८ साल असार ९ गते दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी प्रहरीको फरार सूचीमा थिए ।

फरार रहेकै अवस्थामा केसी ०७९ मंसिरमा सम्पन्न निर्वाचनमा रुकुमपूर्वको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) बाट निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us