काठमाण्डु, २४ भदौ– कांग्रेस सांसद धनराज गुरूङ र ज्योति गुरूङविरूद्ध सहकारी बचत ठगीमा उजुरी परेको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुलीले सोमबारको प्रतिनिधिसभा बैठकमा गुरुङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी परेको दाबी गरे ।
सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्ने काँग्रे सांसद गुरुङविरूद्ध नै सहकारीको बचत रकम ठगीमा उजुरी परेको बताए ।
उनले मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले करिब १५ करोड रकम हिनामिना गरेके आरोपमा धनराज गुरूङ र ज्योति गुरूङविरूद्ध उजुरी गरेको उनले बताए । आफ्ना सभापति रवि लामिछानेमाथि उजुरी नपर्दा पनि सदनमा के–के गरिएको थियो भन्ने प्रश्न गरे ।
‘उजुरी नपर्दा र प्रमाण नहुँदा पनि रास्वपा सभापति रवि लामिछानेलाई सदनमा के–के सम्म गरियो ?’, उनले भने, ‘ मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा धनराज गुरूङ र ज्योति गुरूङविरूद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनु भएको रहेछ । अब धनराज गुरूङका बारेमा छानबिन हुन्छ कि हुन्न ? सहकारी ठगी लुकाउन सम्बन्धविच्छेद गरेको सुन्न आएको छ ।’
एपीवान टिभीमा जिबी राईले लगानी गरेको भन्दै त्यो लगानी सहकारीबाट लगेको हो कि होइन भनेर छानबिन गरिनुपर्ने बताए ।
‘सरकार बनाउने भूमिका खेल्ने एपीवान टिभीका मालिकलाई सरकारले छानबिन गर्ने हिम्मत राख्छ कि राख्दैन। म गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु,’ उनले भने ।