काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री केपी ओलीले पृष्ठभूमि नभएका ‘भुइँफुट्टा’ हरूले राष्ट्रिय एकता खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
ओलीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई लक्षित गरी तल्लोस्तरको ‘भुइँफुट्टा’ शब्द प्रयोग गरेका हुन् ।
काठमाण्डु उपत्यकाका बागमती, विष्णुमति, मनोहरासहित सहायक नदीको दुवैतर्फ थप २० मिटर जग्गा खाली गर्न मापदण्ड बनाउन आदेश दिएको विषयमा ध्यानाकर्षण गराउन गएका सरोकारवालाहरुको ज्ञापनपत्र बुझ्दै ओलीले त्यस्तो असन्तुलित अभिव्यक्ति दिएका हुन् ।
महानगरपालिकाले केही दिनअघि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सूचना जारी गरेपछि मेयर बालेन, उनका समर्थक र एमाले कार्यकर्ता सामाजिक सञ्जालमा एकअर्काविरुद्ध खनिएका छन् ।
‘नेपाली संस्कृति एकता र मित्रताको संस्कृति हो । हाम्रो सभ्यता र संस्कृतिलाई बिथोल्न अनेकथरी तत्त्वहरू लागेका हुन सक्छन् । हामीले हाम्रो राष्ट्रिय एकता र अस्तित्वलाई बलियो बनाउनुपर्छ’, ओलीले भने, ‘पृष्ठभूमि नै नभएका केही भुइँफुट्टाहरूले राष्ट्रिय एकताको भावलाई खल्बल्याउन सक्छन् । यसमा हामी सबै सजग हुनुपर्छ ।’
ओलीले उपत्यकाका नदी आसपास थप २० मिटर क्षेत्रमा संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाबारे सरकार भ्याकेटमा जाने बताए ।
केही दिनअघि एमाले बैठकमा ओलीले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले ‘राउण्ड किक’ हानिदिएका कारण सन्थनिँदै हिंडेको टिप्पणी गरेका थिए ।