काठमाण्डु, २४ भदौ– एमालेले पाँचथरको फालेलुङ–५ प्राङबुङस्थित डाँडागाउँमा वम विस्फोटमा परी दुई बालबालिकाको ज्यान गएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले गम्भीरताका साथ घटना अनुसन्धान गर्न माग गरे । ‘यस घटनामा दोषी को हो ? सरकारले यो सदनमा आएर बताउनुपर्छ । थाहा दिनुपर्छ’, बर्तौलाले भने, ‘यस्तो गम्भीर प्रकृतिको घटना गृहमन्त्रीले संसदमा जानकारी गराउन आवश्यक छ ।’
बर्तौलाले सशस्त्र द्वन्द्वकै क्रममा छाडिएका र फ्याकिएका बमहरु अहिले आएर वस्फोट हुन थालेको बताए ।
बर्तौलाले द्वन्द्का क्रममा राज्य पक्षले बम छाडेको हुन नसक्ने र दाबी गरे । ‘यसको जिम्मेवारी कसले लिनुपर्ने हो ? राज्य पक्षले छाडेको हामी देख्दैनौं, सुन्दैनौं’, बर्तौलाले भने ।
गत १३ भदौमा स्थानीय आइतराज केरुङको घरमा विस्फोट हुँदा स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाइ वर्षीया छोरी प्रिन्सा साँवाको ज्यान गएको थियो ।
ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र दिपक राईका छोरा दिप्सन घाइते छन् । उनीहरुको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।