काठमाण्डु, २४ भदौ– एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जाल एक्समा भाइरल हुँदै आएका मुटुरोगका विशेषज्ञ डा. रामेश कोइरालाबारे कडा टिप्पणी गरेका छन् ।
हिमालय टिभीको टक शो ‘यक्ष प्रश्न’ मा राजेन्द्र बानियाँसँगको अन्तर्वर्तामा भट्टराईले डा. रामेशलाई मुटुबाहेक केही थाहा नभए पनि सबै विषयको ज्ञाता दाबी गर्दै हिंड्ने गरेको टिप्पणी गरेका हुन् ।
अन्तर्वार्ताका क्रममा बानियाँले माओवादी सशस्त्र संघर्षलाई हिंसा बनेपछि आलोचना खेपेको विषयमा भट्टराईलाई प्रश्न गरेका थिए । ‘बानियाँले सोधेका थिए, ‘तपाईंलाई थाहा छ एक जना मुटुको डाक्टर हुनुहुन्छ गंगालालमा । उहाँ सामाजिक सञ्जालमा एकदमै सक्रिय हुनुहुन्छ । नाम लिइदिए पनि हुन्छ । डा. रामेश । उहाँले तपाईंका लागि एउटा सुझाव लेख्नुभएको छ सामाजिक सञ्जालमा । उहाँले के लेख्नुभएको छ भने तपाईंले भनेको ‘फर गिभ बट नट फर्गेट’ अर्थात माफ गर तर, नबिर्सको तल एउटा डिस्क्लेमर लेखिदिनुस् अरे । के लेखिदिनुस् अरे भने माओवादीसँग घाँटी जोडिएका दिन ‘फर गिभ र अलग्गिएका दिन नट फर गेट’ लेखिदियो भन् बल्ल एमाले लगायतका दलहरुको नीति प्रष्ट हुन्छ होला ।’
जवाफमा भट्टराईले डा. रामेशले सबै विषयमा टिप्पणी गर्दै हिंड्ने गरेको बताए । भट्टराईले आफू मन्त्री भएका बेला एक सार्वजनिक कार्यक्रममै डा. रामेशले ‘यो मन्त्रीलाई केही पनि थाहा छैन’ भन्ने टिप्पणी गरेको स्मरण गरे । ‘उहाँ सबै विषयमा टिप्पणी गर्नुहुन्छ । उहाँको व्यक्तिगत कुरा मैले के गर्नु । उहाँ चरोको पनि विज्ञ हो । कमिलाको पनि विज्ञ हो । वातावरणका कुरामा पनि त्यत्तिकै लेख्नुहुन्छ । एक दिन मेरो सार्वजनिक कार्यक्रमा भेट भएको थियो । यो मन्त्रीलाई के थाहा छ ? केही थाहा छैन भनेर भाषण गर्नुभयो । मैले भनें–तपाईंलाई मुटु थाहा छ । अरु केही थाहा छैन । तपाईं मुटु छाम्नुस् ।’