पदयात्रामा गएका स्पेनिस दुइ पर्यटक बेपत्ता

काठमाण्डु टुडे २०८१ भदौ ११ गते १०:०१ मा प्रकाशित

कास्की, ११ भदौ- अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले दिएको जानकारी अनुसार आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास( पुरुष) र मोलास जुन्का मेसी ( महिला) सम्पर्कविहीन भएका छन् ।
भुरुङदी खोलामा रहेको पुल नजिक पर्यटकका दुई वटा झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको गुरुङले बताए। पुरानो बाटोबाट हिँड्दा पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।

उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ, एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिएका छन’ प्रबक्ता गुरुङले बताएका छन् ।

बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको उनले भनें।
पर्यटकको झोला भेटिएको स्थान नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरामा दुई वटा लौरी भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौं ।’

मंगलबार गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी दिए । दूतावासलाई पर्यटक हराएको जानकारी गराइसकिएको पनि गाउँपालिकाका प्रवक्ता गुरुङले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us