सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै

काठमाण्डु टुडे २०८१ भदौ १० गते १४:२५ मा प्रकाशित

काठमाण्डु, १० भदौ– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङदी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ ।

गत शुक्रबार पोखराबाट काठमाण्डु जाँदै गरेको भारतीय बस उक्त स्थानमा दुर्घटनामा परेको थियो । उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

बिहान १० बजेसम्म सडक अवरुद्ध गर्ने भनिएकामा काम नसकिएकाले अझै दुई घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिएका छन ।

उनले भने, ‘बस निकाल्ने काम भइरहेको छ, हालसम्म सफल भएका छैनौँ । बिहान १० बजेसम्मको समय निर्धारण गरिएकामा बस निकाली नसकिएकाले अझै दुई घण्टा सडक सञ्चालन गर्न सक्ने अवस्था छैन ।’

गत शुक्रबार पोखराबाट काठमाण्डुतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाण्डुस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us