काठमाण्डु, १० भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाएका छन् ।
उनले अहिले नेपाली समाजमा विरोध गर्न, कसैको इज्जतमा धावा बोल्न, अपमानजनक अभद्र शब्दहरु प्रयोग गर्न केही कारण नचाहिने पनि बताएका छन ।
आज सोमबार जिल्ला प्रहरी परिसर, काठमाण्डुको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘ती युवाहरु, ती व्यक्तित्वहरु यत्तिकै त्यसो गरिरहेका छैनन् ।
तिनीहरु पारिश्रमिक पचाइरहेका छन्, भत्ता पचाइरहेका छन् ।’ यत्तिकै चिन्दै नचिनेको मान्छेलाई जथाभावी अपशब्द बोल्ने, अपमान गर्ने कसैले इच्छा राख्नै नसक्ने भन्दै उनले भने, ‘इच्छा जब परनियन्त्रणमा हुन्छ, तब त्यो एकढंगले भन्ने हो भने यसका लागि एउटा बाध्यता बढ्दै जान्छ । त्यही बाध्यता बढ्दै गएर समाजमा उच्छृङ्खलता, फाटो मच्चाउने काम हुन्छ ।’
कोही के नाममा, कोही के नाममा यस्ता शक्तिहरु सल्बलाइरहेका देखेको भन्दै ओलीले भने, ‘कोही मुक्तिका नाममा कोही धर्मका नाममा, अनेक प्रकारका शक्तिहरु समाजमा शान्ति खल्बल्याउन र समाजलाई बिथोल्नका लागि प्रयासरत छन् ।’
उनले त्यस्ता शक्तिलाई देशको विकाससँग सरोकार नरहेको भन्दै भने, ‘उनीहरुलाई देशमा शान्ति सुव्यवस्था, अमनचयनसँग सरोकार छैन । उनीहरुलाई अरुका अधिकारमाथि अतिक्रमण गर्नु हुँदैन भन्ने छैन ।’
ओलीले देशलाई अझ बढी अस्थिरता, अन्यौलता र अराजकतातर्फ लिएर जाने प्रयास भइरहेको भन्दै २०७९ फागुनमा गोंगबुमा भएको लुटपाटको घटना समेत स्मरण गरेका छन ।