गठ्ठाघर घटना छानबिन समितिको म्याद थप

काठमाण्डु टुडे २०८१ भदौ ९ गते २०:०४ मा प्रकाशित

काठमाडु, ९ भदौ- भक्तपुरको गठ्ठाघरमा गत बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको घटना छानबिन गर्न गठित समितिको थप भएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको छानबिन समितिलाई थप तीन दिनको म्याद दिइएको हो ।
समितिलाई एक साताभित्र छानबिन प्रतिवेदन पेश गर्न कार्यादेश तोकिएको थियो । समितिको समयसीमा आइतबार सकिएको थियो । छानबिन अन्तिम चरणमा पुगे पनि प्रतिवेदन लेखनको काम बाँकी रहेकाले म्याद थप भएको समिति संयोजक निरौलाले बताए ।
उनका अनुसार बुधबारसम्म प्रतिवेदन बुझाउने तयारी छ । कोटेश्वरबाट सूर्यबिनायकतर्फ गइरहेको ना६ख२१७३ नम्बरको ट्रकले सोही दिशामा रहेको बा४९प८९४४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई हाल काठमाण्डु कपनमा बस्ने ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ट्राफिक प्रहरीको लापरबाहीले झुक्याएर सवारीको गति परीक्षण गरेका कारण घटना भएको भन्दै असंगठित समूहले गठ्ठाघर चोकमा विरोध प्रदर्शन गरेको थियो ।

घटना छानबिनका लागि काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसपी प्रजित केसी नेतृत्वमा गठन गरेको आन्तरिक छानबिन समितिले यसअघि नै प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनले घटनामा ट्राफिक प्रहरीको कुनै कमजोरी नभएको औंल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us