उपचुनावमा हाम्रो पार्टीको परीक्षा हुनेछ: माधव नेपाल

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १८:०१ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आगामी मङ्सिरमा हुने स्थानिय तहको उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताएका छन ।

आज (आइतबार) काठमाण्डुको बानेश्वरमा दसौँ महाधिवेशनपछि आयोजित केन्द्रीय समितिको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

उनले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन पनि दिएका छन । उनले भने, ‘सम्भवतः आगामी मङ्सिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ ।

त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मूल्याङ्कन हुनेछ । जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ ।’ साथै उनले अरू पार्टीले लगाई रहेको आरोपको प्रतिकार गर्न नहुने बताएका छन ।

उनले प्रतिकार गर्नु भनेको आफूमा भएको आत्मविश्वासमा कमी हुने पनि बताएका छन । उनले भने, ‘ गर्वका साथ हामीले भन्नुपर्छ, हामीले आफ्ना कुराहरूमा गौरवबोध भएर बस्नुपर्छ ताकी हीनताबोध भएर केही गर्न सक्दैनौँ ।

प्राय हाम्रो पार्टी पङ्त्तिहरुमा गुनासाहरू बढी सुन्ने गर्छु, अरूले हामीलाई लगाइरहेको बात, आरोप त्यसैबाट हामी चिन्तित हुने गर्छौँ, हामी त्यसको प्रतिकार गर्दै गर्दैनौँ,मुखभरिको जवाफ दिने गर्दैनौँ, त्यो आत्मविश्वासको कमी पनि हो ।

हामीमा आत्मविश्वासको कमी छ, हामीमा डिफेन्सिभ मानसिकता छ, डिफेन्सिभ मानसिकता बोकेको मान्छेले राजनीतिमा पहलकदमी लिन सक्दैन । ’

फरक प्रसङ्गमा अध्यक्ष नेपालले आफूहरूको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको पनि बताए । सत्तारुढ काँग्रेस र एमाले अपारदर्शी ढङ्गले सो प्रस्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरूको सहभागिताविना सम्भव नरहेको दाबी गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us