लेखा समिति सभापति फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेरौं: एमाले सांसद बाँस्कोटा

काठमाण्डु टुडे २०८१ भदौ ९ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– पूर्व मन्त्री एवं एमालेका सांसद गोकुल बाँस्कोटाले सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने माग राखेका छन ।

सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरू अमनलाल मोदी र लेखनाथ दाहालले सार्वजनिक लेखा समिति सभापति परिवर्तन गर्नुपर्ने बताएका थिए ।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले पनि सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षलाई दिने संसदीय अभ्यास रहेको बताएका थिए । सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद बास्कोटाले भने सभापति परिवर्तन गर्ने हो भने राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने माग राखेका हुन ।

सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल रहेका छन । राष्ट्रिय सभा अध्यक्षमा राष्ट्रपतिबाट मनोनित नारायणप्रसाद दाहाल छन् । उनी माओवादी केन्द्रका नेता थिए ।

सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गरी प्रतिपक्षी दललाई दिनुपर्ने माग उठेको विरोध एमालेका सांसदहरूले गरिरहेका छन् । आजको बैठकमा एमाले सांसद बास्कोटाले भने, ‘सार्वजनिक लेखा समितिको सभापति फेर्ने भए राष्ट्रिय सभाको अध्यक्ष र प्रतिपनिधिसभाको उपसभामुख पनि फेरौं । फेर्ने कुरा सहमति बनाएर फेर्नुस्, अनि कुरा गरौंला ।’

बास्कोटाले सार्वजनिक लेखा समिति मात्रै नभई अन्य समितिका सभापति पनि परिवर्तन गर्नुपर्ने तर्क गरेका छन् । माओवादी केन्द्रकी सांसद विमला सुवेदी प्रतिनिधिसभाको कानुन,न्याय तथा मानवअधिकार समिति सभापति छन् भने प्रतिपक्षमा रहेको राप्रपाका सांसद दीपकबहादुर सिंह विकास समिति सभापति छन् ।

एमालेको नेतृत्वमा संसद्को ठूलो दल कांग्रेस पनि सरकारमा रहेको छ । एमाले सांसदहरूले विगतमा पनि सभापति सत्तापक्षमा रहेको बताउँदै अब पनि सत्तापक्षमा राख्दा प्रतिपक्षले आपत्ति जनाउन नहुने तर्क गरेको छ ।

अघिल्लो प्रतिनिधिसभामा कांग्रेसका भरत शाह लेखा समिति सभापति हुँदा एमालेले बैठक बहिस्कार गरेको थियो । त्यतिबेला संसद् अदालतले पुनर्स्थापना गरेको विरोधमा समिति बैठक बहिष्कार गरेको बास्कोटाको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us