काठमाण्डु, ९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने कुनै सम्भावना नरहेको बताएका छन ।
कांग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन । उनले उनीहरुले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने जिकिर गरेका हुन् ।
आज (आइतबार) काठमाण्डुमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले दुई ठुलो पार्टीको नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्रै सीमित हुने बताएका छन । उनले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरुले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताएका छन ।
दुई ठुलो पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि चेन्ज गर्न नसक्ने उनले बताएका छन । सम्मानित नेता खनालले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरूले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए ।
उनले भने, ‘दुई वटा पार्टीको सरकार बनेको छ । यी दुई घमण्डी पार्टीहरू हुन । भ्रष्ट पार्टीहरू हुन् । अवसरवादी पार्टीहरू हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो ।
यो दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन हो । यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिस्टम बनाउने । जुन कुरो मलाई लाग्छ–यो सूर्यमुनि असम्भव छ ।’