प्रचण्डले मागे मधेस प्रदेशका दल नेता भरत साहको राजीनामा

काठमाण्डु टुडे २०८१ भदौ ८ गते ११:४६ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मधेस प्रदेश संसदीय दलका नेता भरत साहको राजीनामा मागेका छन् ।

प्रचण्ड भेट्न शनिबार बिहान साहसहित मधेस संसदीय दलका सांसदहरुलाई खुमलटार बोलाएका थिए । त्यस क्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङ, मधेस इन्चार्ज लीलामणि पोखरेललगायत नेता पनि उपस्थित थिए ।

छलफलमा सहभागी एक सांसदका अनुसार प्रचण्डले दुई महिनाभित्र साहलाई राजीनामा दिन निर्देशन दिएका छन् । साहविरुद्ध ९ सांसदले गत २५ असारमा हस्ताक्षर गरी दल नेता परिवर्तनको प्रयास गरेका थिए ।

मधेस प्रदेशमा माओवादीका ९ सांसद छन् । साहमाथि अघिल्लो सरकारमा मधेस प्रदेशको अर्थमन्त्री भएका बेला बजेट निर्माणमा चलखेल गरेको आरोप सांसदहरुले लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us