काठमाण्डु, ८ भदौ– भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे नेपाल आउने भएकी छन् ।
शुक्रबार तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन र घाइतेहरुको अवस्था बुझ्न राज्यमन्त्री खडसे नेपाल आउन लागेकी हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा उनी नेपाल आउन लागेको बताइएको छ ।
भारतीय पर्यटक सवार यूपी५३एफटी७६२३ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।
अरु १६ जना घाइते भएका छन् । बसमा सवार सबै भारतको महाराष्ट्र प्रदेशस्थित जलगाउँ जिल्लाका बासिन्दा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मृतकहरुको चितवनको भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ । पोष्टमार्टमपछि शव सम्बन्धित पक्षलाई बुझाउने तयारी छ ।
घाइते १६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी त्रिवी शिक्षण अस्पतालमा ल्याइएको छ ।