प्रतिबन्ध खुलाउने सरकारको निर्णयपछि टिकटकले भन्यो– हामी उत्साहित छौं

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १३:३० मा प्रकाशित

काठमाण्डु, ७ भदौ– सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध खुलाउने निर्णयलाई टिकटकले स्वागत गरेको छ। टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको जानकारी दिएका छन । विज्ञप्तिमा भनिएको छ, ‘ यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं ।

नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं ।’ टिकटकको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण अवसरको ढोका खोलेको पनि विज्ञप्तिमा उल्लेख गरीएको छ ।

‘हामी नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मञ्चलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं। किनकी हामीले नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध शर्तसहित खोल्ने निर्णय गरेको थियो। अघिल्लो वर्ष कात्तिकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us