काठमाण्डु, २३ साउन– सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा माओवादि केन्द्रका नेता अग्निप्रसाद सापकोटा विरुद्ध दायर रिट निवेदनको निर्णय सुनाउने मिति सारेको छ । सापकोटा विरुद्धको मुद्दामा संवैधानिक इजलासले बुधबार निर्णय सुनाउने भनी मिति तोकेको थियो । त्यो मिति सारेको हो ।
सर्वोच्च अदालतले ‘निर्णय सुनाउने मिति सरेको’ भनी सूचना राखे पनि अर्को मिति तोकेको छैन । आफ्नो पतिको हत्यामा संलग्न सापकोटा विरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । उनका पति अर्जुन लामा काभे्रको श्रीकृष्ण माविबाट १६ वैशाख २०६२ मा अपहरणमा परेका थिए ।
पछि असारको दोस्रो साता बूढाखानी क्षेत्रमा पुर्याएर उनको हत्या भयो । शान्ति प्रक्रिया शुरु भएपछि पूर्णिमाया निवेदन दर्ताका लागि सर्वोच्च अदालतमा पुगिन् । प्रहरीले जाहेरी दर्ता गर्न मानेन । जिल्ला प्रशासन कार्यालयले द्वन्द्वकालीन घटना हेर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने संवैधानिक व्यवस्था रहेको भन्दै जाहेरी लिन अस्वीकार गर्यो ।
उनले सर्वोच्च अदालतमा मुद्दा हालिन् । सर्वोच्च अदालतले २७ फागुन, २०६४ मा निवेदन दर्ता गर्नू भनी आदेश दियो । किटानी जाहेरीमा माओवादी नेता अग्नि सापकोटाको समेत नाम थियो । उनको नाममा प्रहरीले पक्राउ पूर्जी समेत जारी गरेको थियो । त्यसमा सापकोटा सहित सूर्यमान दोङ लगायत ६ जनाको नाम थियो ।
उनी सञ्चार मन्त्रीमा नियुक्त भएपछि उनको नियुक्ति बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतले हरेक १५ दिनमा अनुसन्धानको प्रतिवेदन पेस गर्नू भनी प्रहरीलाई आदेश दिएको थियो । १२ साउन २०६९ मा प्रहरीले अनुसन्धानको फाइल तामेलीमा राख्ने भनी निर्णय गर्यो ।
त्यतिबेला डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले राजनीतिक प्रकृतिको घटना भएको र त्यसबारे सत्य निरुपण तथा मेलमिलाप आयोगले अनुसन्धान गर्ने भन्दै प्रहरीमा रहेको फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो ।