काठमाण्डु, २३ साउन– खराब मौसमका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको अनुमान गरीएको छ । दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले जानकारी दिएका छन ।
दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । हेलिकप्टर कुनै पहाडमा ठोक्किएको नदेखिएको भन्दै उनले दुर्घटनास्थल बरु खोँचजस्तो ठाउँ रहेको उनले जानकारी दिएका छन । उनले भने, ‘कतिपयले जहाजमा पहाडमा ठोक्किएको भनेका छन् । तर भौगोलिक अवस्था हेर्दा त्यस्तो होइन ।
कुहिरोका कारण जहाज तलबाट आएर दुर्घटना भएकोजस्तो हुनसक्छ ।’ जहाज गुर्जे भन्ज्याङबाट सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा सबार सबै ५ जनाको शव फेला परेको उनले घटनास्थलबाट जानकारी दिएका छन । एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाण्डु टावरसँग सम्पर्क विच्छेद भएको थियो ।