उडेको तीन मिनेटमै एयर डाइनेस्टीको काठमाण्डु टावरसँग सम्पर्क विच्छेद भई दुर्घटना

काठमाण्डु टुडे २०८१ साउन २३ गते १५:५८ मा प्रकाशित

काठमाण्डु, २३ साउन– एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाण्डुको टावरसँग सम्पर्क विच्छेद भएको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाण्डुबाट विमानस्थलबाट दिउँसो १ः५४ मा उडेको जहाज (९एन–एजेडी) रसुवाको स्याफ्रुबेशी जाँदै थियो ।

जहाजमा क्याप्टेनबाहेक ४ जना यात्रु (चिनिया नागरिक) रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ।’

दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर दुर्घटना स्थलतर्फ प्रस्थान गरेको प्राधिकरणले जनाएको छ । दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us