जब सुन्धारामा काँग्रेस सांसदका पीएले ट्याक्सी चालकमाथि खुकुरी चलाउन खोजे…

काठमाण्डु टुडे २०८१ साउन २२ गते ९:२० मा प्रकाशित

काठमाण्डु, २२ साउन– सत्तारुढ एक काँग्रेस सांसद्का स्वकीय सचिवले काठमाण्डुमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेका छन् ।

म्याग्दीबाट निर्वाचित काँग्रेस सांसद खमबहादुर गर्बुजाका स्वकीय सचिव पृजेन भट्टचनले सुन्धारामा एक ट्याक्सी चालकलाई खुकुरी प्रहारको प्रयास गरेका हुन् ।

गत १३ साउनमा सुन्धारास्थित एक गेष्ट हाउस हगाडि ट्याक्सी रोकिएको विषयमा विवाद हुँदा भट्टचनले ट्याक्सी चालक सन्तोष मगरमाथि कुखुरी ताकेका थिए ।

यात्रु ओरालेर फर्कंदै गर्दा मोबाइलमा फोन आएपछि रोकेर कुरा गर्न लागेका बेला ट्याक्सी किन रोकेको भन्दै भट्टचनले अपशब्द प्रयोग गरी गालीगलौज गरेको उनको भनाइ थियो ।

पहिला दुई चड्कन हानेर होटलभित्रबाट खुकुरी ल्याएर प्रहार गर्न खोजेको उनले बताए । मगरलाई बचाउने क्रममा भट्टचनको हातबकाट खुकुरी खोस्दा ट्याक्सी चालकद्वय नरबहादुर श्रेष्ठ र कुमार श्रेष्ठको हात काटिएको छ ।

ट्याक्सी चालकहरुले प्रहरी वृत्त जनसेवामा घटनाबारे जानकारी दिएका थिए । जनसेवा प्रहरीले भट्टचनलाई नियन्त्रणमा लिएर गए पनि उनीविरुद्धको जाहेरी पनि दर्ता गर्न मानेन ।

मगरले काँग्रेस सांसदको स्वकीय सचिव भएकै कारण भट्टचनविरुद्ध जाहेरी दर्ता नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us