नयाँ सरकार बनेयता मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखियो: प्रवक्ता महत

काठमाण्डु टुडे २०८१ साउन २१ गते १६:३८ मा प्रकाशित

काठमाण्डु, २१ साउन– कांग्रेस प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको बताएका छन ।

आज सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद महतले यस्तो बताएका हुन । प्रवक्ता महतले खुकुलो मौद्रिक नीति र कांग्रेस–एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको समेत बताएका छन । उनले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराएका छन ।

प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औँल्याउँदै सर्वसाधारणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गरेका छन । महतले सर्वसाधारणको लगानी सेयर बजारमा डुब्नसक्ने खतरा रहेको औँल्याउँदै त्यसो हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us