काठमाण्डू, २१ साउन- प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको सोमबार बैठकको आकस्मिक समयमा बोल्दै उनले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिन माग गरेका हुन्।
सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता रकम नतिरेका व्यापारीहरूसँग रहस्यमय ढंगले भेट गरेको जिकिर गरे।
उक्त घटनाका लागि छानविनका लागि सरकारलाई रूलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।
सभापति पोखरेलले अघिल्लो सार्वजनिक लेखा समितिले सो बक्यौता रकम असुली गर्नका लागि दिएको निर्देशनविपरीत लागेकाले उनीमाथि कारबाही हुनुपर्ने उनको भनाइ थियो।
सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए।
सांसद सापकोटाले सरकारले विद्यमान नियमविपरीत प्राधिकरणका बोर्ड सदस्यहरूलाई बर्खास्त गरेको दाबी समेत गरे।