काठमाण्डु, २० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशाला निर्माण हुने कुरामा जनतालाई आस जगाई दिन कलाकारलाई आग्रह गरेका छन् । कलाकार कलाकारिताका सिलसिलामा आफूभन्दा बढी जनासँग नियमित टचमा रहने उनले बताएका छन । पद बहालीदेखि क्रिकेट रंगशाला निर्माणलाई महत्त्व दिइरहेका प्रधानमन्त्री ओलीले आइतबार कलाकार, खेलाडीलगायतको संयुक्त बैठक राखेका छन् ।
जसमा कलाकारको तर्फबाट गायक बद्री पंगेनी, प्रकाश सपुत, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगर, गायिका रचना रिमाल, हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेललगायत सहभागी थिए । ३ सय दिनभित्र रंगशाला पूरा गर्नका लागि सबैको सक्रियताको आवश्यक रहेको र समयमा यो सकिनु भनेको निर्धारित समयमा कुनै पनि आयोजना सकिन सक्छ भन्ने सन्देश जाने प्रधानमन्त्री ओलीले बताएको पोखरेलले जानकारी दिएका छन ।
विकासका कामहरू निराशाजनक अवस्थामा गतिहीन बनेको बताएका प्रधानमन्त्री ओलीले समग्रतामा एउटा गतिशीलता निकाल्ने र जनतालाई आशावादी बनाउने काम रंगशाला निर्माणबाट हुने समेत उनले जानकारी दिएका छन ।
‘प्रधानमन्त्री ओलीले रंगशाला निर्माणमा सबैको सकारात्मक भूमिका होस् भन्नुभयो’, पोखरेलले भने, ‘ कलाकार पब्लिकसँग जोडिने भएकोले आसावादी राखिदिनुहोला भन्नुभयो ।’ एक वर्षपछि एआइले बनाएको कुनै फोटो राखेर रंगशाला भनेर पोष्ट गर्नुपर्ने वातावरण हटाइदिन आफूले प्रधानमन्त्रीलाई अनुरोध गरेको पोखरेले जानकारी दिएका छन ।
गायक बद्री पंगेनीले प्रधानमन्त्रीले भेटमा कलाकारसँग रंगशाला निर्माणमा सुझाव सल्लाह समेत लिएको बताए । कला र खेलकुदलाई एकसाथ लैजाने प्रधानमन्त्रीको मनसाय आफूले पाएको बद्रीले बताएका छन । भेटमा प्रधानमन्त्रीलाई ३ सय दिनमा रंगशाला बन्यो भने धन्यवादसहित फोटो पोष्ट गर्छु भन्दै उनले पूरा भएन भने फोटो पोष्ट गर्दिन भनेर आफूले तस्बिर समेत खिचाएको बताएका छन ।
बैठकमा क्यान सचिव पारस खड्काको अलवा विभिन्न खेलाडीको पनि उपस्थिति थियो । बैठकमा क्रिकेट रंगशाला निर्माणमा प्रधानमन्त्रीले दिएको तदारुकतालाई लिएर क्यान सचिव पारस खड्का र खेलाडीहरूले आभार प्रकट गरेका थिए ।