काठमाण्डु, १७ साउन– बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका कैदी फरार भएका छन । कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएको जिल्ला कारागार मोरङले जानकारी दिएको छ ।
कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो ।
बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएको प्रहरीले जानकारी दिएको छ । शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले जानकारी दिएको छ ।
विराटनगर महानगरपालिका–८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ ।
जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गते मात्रै कारागारबाट छुट्छन् ।